नमस्कार तथा सहकारी अभिवादन,
शेयर सदस्य महानुभावहरु, हाम्रो संस्था विभिन्न उकाली ओरालीहरु पार गर्दै २७ औं वसन्तमा पर्दापण गरेकोछ। यो अभियानलाई सफल पार्न यहाँहरुको साथ सहयोग र समर्थनबाट मात्र सम्भव थियो । यस्तो सहयोग र समर्थन निरन्तर प्राप्त हुनेछ भन्ने आशा लिएको छु। यस घडिमा संस्थालाई विधि र पद्धती अनुसार हिडाउन आवश्यक पर्ने विभिन्न नीति निर्देशिका, आन्तरिक कार्यविधि निमार्ण तथा परिमार्जन , समय सापेक्ष सस्थाको विनियमलाई संशोधन तथा पुनर्लेखन गर्दै सदस्यहरुको हितलाई सर्वोपरि ठानी अघि बढिरहेका छौं । संस्थाको गतिविधिलाई सदस्य माझ पुऱ्याउन संचार माध्यम, सामाजिक संजाल, फेसबुक पेज निर्माण, वेव साइट तथा अन्य विविध माध्यमको प्रयोग गरिरहेका छौं । संस्थालाई अझ सदस्यको नजिक पुग्न सहयोग होस भन्ने उदेश्यका साथ विभिन्न स्थानहरुमा सदस्य सेवाकेन्द्रहरु समेत विस्तार गर्दै अघि बढिरहेको कुरा अनुरोध गर्न चाहन्छु । विश्वको सहकारी इतिहासलाई हेर्दा सन् १८४० ताका औद्योगिक क्रान्तिले तहसनहस पारेको बेलायती अर्थतन्त्रले रोचडेलका मजदुरहरु नराम्ररी प्रभावित भए फलस्वरुप १८४४ डिसेम्बर २१ मा २८ जना जुलाहा मजदुर मिलेर सहकारीताको विकास गरे जसलाई हामी विश्व सहकारीको पायोनियर मान्दछौं । नेपालमा पनि राप्ती नदीको तटमा बसेका बाढी पिडितहरुलाई राहत दिन वि.सं. २०१३ साल चैत्र २० गते बखान सिं गुरुङ्गको संयोजकत्वमा बखान सहकारी निर्माण गरिएको थियो । हाल सोही सहकारी बखान बहुउद्देश्यीय सहकारी संस्थाको नामले परिचित छ । हाम्रो सस्था तत्कालिन तोपगाछी, लखनपुर र धरमपुर गा.वि.स. का जागरुक युवाहरु मिली साहू महाजनको चर्को व्याजको ऋणबाट मुक्ति दिलाउन तथा गाउँघरमा छरिएर रहेको साना-साना पुँजीलाई एकीकृत गर्न समूदायमा बचत गर्ने बानीको विकास गर्न स-साना भेला बैठक गर्दै अन्तिममा २०५५ साल वैसाख महिनाको दोश्रो शुक्रबार अर्थात २०५५ साल वैशाख ११ गते श्री शहिद धर्मभक्त मा.वि. को प्राङ्गणमा भएको भेलाले श्री शरण कुमार पराजुलीको संयोजकत्वमा सात सदस्यीय तर्दथ समिति गठन गरी जम्मा २७ जनाले प्रति व्यक्ति ५ कित्ता शेयर बाट १३,५००।- संकलन गर्दै २०५५ साल अषाढ १६ गते जिल्लासहकारी कार्यालय भद्रपुर बाट द।नं ३/१/७/(१२१)/०५४/५५ मा आधिकारीकता प्राप्त गर्यो। औपचारीक रुपमा कार्यालय भने २०५५ साल श्रावण १ गते बाट तात्कालिन उपाध्यक्ष लैन बहादुर पौडेल ज्यूले उपलब्ध गराउनु भएको १ वटा कोठाबाट विधिवत कार्यालय संचालन गरियो । सोही संस्था हाल केखा बजारको मध्य भागमा आफ्नै ३ कठ्ठा ११ धुर जमिन सहित चार तले पक्की भवनबाट मुख्य कार्यालय संचालित छ । त्यसैगरी उर्लाबारी नगरपालिका वडा नं. ५ मा ००-०१-०० (एक कट्ठा)र कमल गाउपालिका वडा नं. १ मा २-००-०९ (दुई विगाहा नौ धुर) मा संयूक्त बहुउद्देश्यीय कृषि फार्म सञ्चालनमा छ भन्न पाउँदा हामी गौरवान्वित भएका छौं ।
१. सदस्यहरुलाई व्यवसायिकतामा जोड दिदै वचत वृद्धिमा प्रोत्साहन गर्ने ।
२. मानवीय संसाधन तथा आधुनिक प्रविधिको अधिकतम प्रयोग गर्दै गुणस्तरीय सेवा प्रदान गर्ने ।
३. शिक्षा स्वास्थ्य तथा वातावरण संरक्षण जस्ता सामाजिक क्रियाकलापमा योगदान दिने ।